images

संसदीय छानबिन समितिद्वारा समस्याग्रस्त २० सहकारीको कागजात माग

काठमाडौं– सहकारीको बचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

समितिको आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूची– १ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डाक्टर युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आ–आफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको सङ्कट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् । गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।