images

राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने

काठमाडौं–गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

उनले सूचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भिडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भिडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए ।

उनले भने, ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भने पनि पहिलो चरणमा २८ जिल्लाहरूमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरूसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईँले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरू वञ्चित हुनु पर्दैन । कथम् कदाचित कसैको भदौ सम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिले पनि विमुख पार्दैन । अहिले छिटै बनाउने सपरिवार एकै पटक बनाउने भएका कारणले लाइन लाग्न गएको छ । जसको व्यवस्थापनमा अतिरिक्त मानव संसाधनको प्रयोग गरिएको छ जिल्ला प्रशासन कार्यालयमार्फत । स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ । सूचना लिने बित्तिकै छिटो गरौँ भन्ने स्वभावका कारणले भिडभाड अवश्य पनि लागेको छ । भिडभाड गर्नुपर्ने आवश्यकता नै छैन । तत्काल गर्नुपर्ने आवश्यकता नै छैन । पहिला २८ जिल्लामा यसलाई कार्यान्वयन गर्ने चरणमा गएका छौँ । २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईँलाई तपाईँको अधिकारबाट वञ्चित गर्दैन ।’

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्ध वृद्धा र बालबालिकाहरूका लागि विशेष व्यवस्था गरिने पनि बताए ।