images

कसरी सम्भव भयो दुई फरक धुब्रका राजनीतिक दलको सत्ता साझेदारीमा सहमति ?

काठमाडौं– मध्यरातमा भएको कांग्रेस र एमालेको नयाँ समीकरण बनाउने समझदारीले राष्ट्रिय राजनीति फेरि उथलपुथल भएको छ । दुई फरक सिद्धान्त बोक्ने दल एकै ठाउँमा आउनुलाई स्वाभाविक रूपमा हेरिएको छैन । समीकरण फेरबदल आउनुमा गिरीबन्धु टी स्टेट जग्गा प्रकरण देखि सुन तस्करी प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणलाई समेत कारक मानिएको छ । साथै उदाउँदो नयाँ शक्तिका कारण अत्तालिएका कांग्रेस माओवादी भविष्यमा आफूलाई सुरक्षित गर्न पनि एक ठाउँमा उभिएको विश्लेषण सुरु भएको छ ।

विगत तीन दिनको दौडधुप पछि अन्ततः कांग्रेस र एमालेले नयाँ समीकरण बनाउने सहमति गरेका छन् । सोमबार मध्यरातमा भएको सहमतिमा सत्ताको भागबन्डादेखि संविधान संशोधनसम्मका विषय समेटिएको छ । दुवै दलले राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण बनाउनुपरेको दाबी गरेका छन् । तर, कांग्रेस–एमाले एक ठाउँमा उभिनुको कारण र त्यसले पार्ने प्रभावबारे विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

१. भ्रष्टाचार मुद्दामा सौदाबाजी
पछिल्लो समय गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरण निकै चर्चामा छ । जसमा एमाले अध्यक्ष केपी शर्मा ओली मुछिएका छन् । अर्कोतर्फ भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी आरजू राणाको नाम जोडिएको छ । त्यसबाहेक सुन तस्करी प्रकरणदेखि बाँसबारी छाला जुत्ता प्रकरणसम्मका ठुला प्रकरणमा कांग्रेस–एमालेका नेताहरू तानिएका छन् । त्यस्तैले नेताहरूलाई यी प्रकरणबाट जोगाउनका लागि दुई दल एक ठाउँमा आएको विश्लेषण भएको छ ।

२. नयाँ दलको चुनौती
पछिल्लो निर्वाचनमा रास्वपाको जर्बजस्त इन्ट्री तथा बालेन्द्र शाह र हर्क साङपाङले ल्याएको लोकप्रिय मतबाट परम्परागत दल कांग्रेस एमाले झस्किएका छन् । साथै तराई–मधेसमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पाएको मत पनि पुरा दलहरूलाई टाउको दुखाइ बनेको छ । आगामी निर्वाचनमा बालेन्द्र शाहले पनि नयाँ दल खोल्ने चर्चा भइरहेका बेला पुराना दलमाथि चुनौती थपिएको छ । त्यसैले नयाँ दलले समानुपातिक प्रणालीबाट प्राप्त मतले झस्किएका कांग्रेस एमालेबीच संविधान नै संशोधन गरेर निर्वाचन प्रणाली फेर्ने समझदारी भएको छ । यसो गर्दा नयाँ दललाई रोक्न सकिन्छ भन्ने कांग्रेस एमालेको बुझाइ छ । जसलाई उनीहरूको संसद्को सङ्ख्याले पनि साथ दिएको छ । दुई दल मिल्दा दुई तिहाइका माथि थोरै मत मात्र कम हुन्छ ।

३.प्रचण्ड र रविको बार्गेनिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवि लामिछानेले संसद्को सङ्ख्याको आधारमा बार्गेनिङ गर्न थालेपछि कांग्रेस एमाले चिढिएका हुन् । चमत्कारिक सङ्ख्या भन्दै दाहालले गठबन्धन फेरिरहने र सहकारीदेखि विभिन्न प्रकरणमा मुछिएका रविलाई बोकी रहनुपर्ने अवस्थाबाट मुक्ति पाउन पनि दुई दल एक ठाउँमा उभिएको विश्लेषण छ ।

४. लोकतन्त्रलाई झन् खतरा
कांग्रेस र एमाले एक ठाउँमा उभिँदा केन्द्रदेखि प्रदेशसम्मै स्थिर सरकार बन्ने र लोकतन्त्रलाई संस्थागत गर्न सकिने भनिए पनि यो गठबन्धन लोकतन्त्रका लागि भने झनै घातक हुने देखिएको छ । दुई विपरीत विचारधारा दल स्वार्थका लागि एक ठाउँमा आउँदा संसद्मा प्रतिपक्षीविहिन हुने अवस्था छ । जसले स्वार्थ अनुसार मनोमानी निर्णय गर्ने जोखिम बढाएको छ ।

सामान्य रूपमा हेर्दा दुई ठुला दलको मिलनले तत्कालीन अवस्था देखिएको सरकार बनाउने र ढाल्ने खेल रोकिने अपेक्षा गर्न सकिन्छ । किनकि मधेसबाहेक सबै प्रदेशमा पनि कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमत पुग्छ । त्यसैले अस्थिर राजनीतिको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । तथापि फरक सिद्धान्त बोकेका दुई दलको मिलनलाई राजनीतिक स्थायित्व र एक थान प्रधानमन्त्रीका लागि मात्रै भन्न सकिने अवस्था भने पक्कै छैन । आगामी चुनावमा नयाँ शक्तिलाई रोक्ने र विभिन्न प्रकरणमा आफ्ना नेताहरूलाई जोगाउने प्रपञ्चको रूपमा यसलाई विश्लेषण गरिएको छ ।