images

सहकारी संसदीय छानबिन समितिले समस्या समाधानका लागि राष्ट्रिय दलहरूसँग माग्यो लिखित सुझाव

काठमाडौं–सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।

मङ्गलवार समितिले राष्ट्रिय सहकारी महासङ्घ, बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ र राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका पदाधिकारीसँग छलफलपछि यस्तो निर्णय गरेको हो । छलफल पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक सूर्य थापाले सहकारी क्षेत्रको बचत अपचलन र ठगी तथा बचत फिर्ताको समस्या सम्बन्धमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको बताए । सहकारी समस्या आर्थिक क्षेत्रको समस्या मात्रै नभएर तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा भएको उनको भनाइ छ । उनले सङ्गठित रूपमा सहकारी क्षेत्रको विकास प्रवर्द्धन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार रहेको पनि बताए ।

छानबिन समितिको छलफलमा सहकारी क्षेत्रका जानकारहरूले सहकारी क्षेत्रमा अहिले देखा परेको सङ्कट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा महत्त्वपूर्ण सुझावहरू दिएको थापाले बताए ।