images

राजनीतिक इगोका कारण प्रचण्ड सत्ताच्यूत, कांग्रेस र एमालेको मिसन पूरा

काठमाडौं– संसद्का प्रमुख दुई ठुला दल कांग्रेस र एमालेलाई जिल्याउँदै सत्ताको बागडोरमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले आफै जिल्लिएका छन् । राजनीतिका धोकेबाजको संज्ञा पाएका दाहाल अहिले किनारा लागेका छन् । अर्थात् कांग्रेस र एमालेले दाहालबाट पालापाले पाएको धाकाको बदला लिएका छन् ।

संसद्मा थोरै सङ्ख्या भए पनि निर्णायक रहेको माओवादी केन्द्रले पहिलो ठुलो दल कांग्रेस र दोस्रो ठुलो दल एमालेलाई पालैपालो खेलाइरह्यो । पटक पटक धोकाधडी गरेर दाहाल १८ महिनासम्म प्रधानमन्त्रीको कुर्सीमा रहे । अब भने उनको कुर्सी हल्लिएको मात्रै छैन ढल्ने निश्चित प्राय भएको छ । दाहालले  कुर्सी गुमाउनुको मुख्य कारण भने उनै हुन । सत्ता सहयात्री दललाई पटक–पटक दिएको धोकाका कारण नै उनी सत्ता विमुख हुने अवस्थामा पुगेका हुन् । १८ महिनाको अवधिमा तीन पटक गठबन्धन फेरेका दाहालले यसै गरी ५ वर्ष बिताउने सपना देखेका थिए ।

पाँचै वर्षसम्म आफैले सत्ता हाँक्ने दाहालको अभिव्यक्तिबाट झस्किएको एमालेले काँग्रेससँग मिलेर उनको सपना चकनाचुर बनाइदिएको छ । दाहालले फेरि पनि काँग्रेससँग गठबन्धन गर्न खोजेपछि यस्तो कदम चाल्नुपरेको एमाले महासचिव प्रदीप ज्ञवालीको दाबी छ ।

हुन त दाहालको चालबाजी बुझेको कांग्रेसले सत्ता साझेदार दललाई धोका दिएर एमालेसँग गठबन्धन गरेपछि त्यतीबेलै दाहाललाई सांसदबाटै चेतावनी दिएको थियो । दाहालले विश्वासको मत लिने क्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पालै पालो धोका दिएका दलहरू मिल्यो भने हालत के हुन्छ भन्दै प्रश्न समेत गरेका थिए ।

कांग्रेस सचेतक रमेश लेखकले भनेजस्तै दाहालबाट धोका पाएका दलहरू अहिले एकै ठाउँमा उभिएका छन् । जसले दाहाललाई सङ्घदेखि प्रदेशसम्मै प्रतिपक्षी बेन्चमा पु¥याउनेछ । तर,पनि दाहाल अझै कतै खेल्न सकिन्छ कि भन्ने दाउमा छन् । त्यसैले उनले तत्काल राजीनामा नदिने मनस्थिति बनाएका छन् । तर, १८ महिनाको अवधिमा सांसदबाट पटक पटक विश्वासको मत पाएका दाहालले राजनीतिमा भने आफ्नै ढुलमुले चरित्रका कारण विश्वास गुमाइसकेका छन् । अब, दाहालबाट पालैपालो धोका पाएका कांग्रेस र एमाले दाहालका विरुद्ध एकै ठाउँमा उभिएका छन् ।