images

बालुवाटारबाट राजीनामा नदिई फर्किए रास्वपाका मन्त्रीहरू

काठमाडौं–राजीनामा बुझाउन भनेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर फर्किएका छन् । प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै रास्वपाका मन्त्रीहरू बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफू विश्वासको मतका लागि सामना गर्ने र उक्त समयका लागि साथ दिन आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिईकन फर्किएका हुन् । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने,‘रास्वपाका तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर आज बालुवाटार आएका थियौँ। प्रधानमन्त्रीले अलिकति छलफल गर्नुपर्‍यो भन्नुभयो, पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो,’ उनले भने, ‘प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभएको छ। संसद्लाई फेस गरिरहँदा तपाईँहरूले मलाई साथ दिनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो।’

उनले रास्वपाका एमाले कांग्रेस नेतृत्वको सरकारमा रास्वपा सहभागी नहुने समेत स्पष्ट पारे । साथै प्रधानमन्त्री प्रचण्डलाई छिट्टै विश्वासको मतका लागि फेस गर्न सुझाव समेत दिएको बताए । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबिच भने पालै पालो सरकार चलाउने गरी सहमति भइसकेको छ । उनीहरूले प्रचण्डलाई सरकार छोड्न समेत आग्रह गरिसकेका छन् ।