images

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साह छन् ।

यता, पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सव इन्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।