images

सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि ५६ ढोका खोलिए

झापा– सप्तकोशी नदीको जल सतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएको छ ।

केही बेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोशी जल मापन केन्द्रमा जल सतह खतराको सङ्केत पार गरेका कारण नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ । केही दिन यता देशचर भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशभर अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।