images

असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको विषय टुङ्गो लगाउँछौः प्रमुख सचेतक बर्तौला

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् ।

आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । प्रमुख सचेतक बर्तौलाले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गोमा पुगी नसकेको बताए । उनले काँग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डामा टुङ्गो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल हुने बताए ।

उनले भने, ‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली काँग्रेसको बीचमा आलोपालो पहिला नेकपा एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली काँग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमति भएको छ । सहमति यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बीचमा हामीले छलफल गर्नेछौँ । त्यो छलफल प्रारम्भिक रूपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौँ । मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र, मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोली नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौँ । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबन्डाको बारेमा हामी टुङ्गो लगाउँछौँ । अहिले चाहिँ केही छलफल भएको छ । टुङ्गो कुनै पनि लागेको अवस्था रहेन । कति दलहरू हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्ने कुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबन्डा गर्ने कुरा हुन्छ । त्यस कारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ । ’

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुङ्गिन केही समय लाग्ने बताए ।