images

नयाँ रणनीति बुन्दै प्रचण्ड !

काठमाडौं–संसद्को तेस्रो ठुलो दलका नेता भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८ महिना सरकारको नेतृत्व गरे । यस अवधिमा उनले कांग्रेस र एमालेलाई पालैपालो प्रयोग गरे ।

अहिले तीनै दाहालका सारथि कांग्रेस र एमाले एक ठाउँमा उभिँदा दाहाल सत्ता विमुख हुने अवस्थामा पुगेका छन् । तर, पनि उनी अझै पनि कांग्रेस–एमाले गठबन्धन हुन नदिने प्रयास गरिरहेका छन् । एमाले अध्यक्ष ओलीलाई जसरी पनि प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा दाहाल छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार पाँचौँ पटक संसदमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री बनेको १८ महिनाको अवधिमा दाहाललाई संसदमा बहुमत पु¥याउन कुनै समस्या थिएन । पहिलो पटक कांग्रेस र एमालेसहित अधिकांश सांसदको समर्थन पाएका दाहाललाई त्यसपछि पनि कहिले एमाले र कहिले कांग्रेसको साथ थियो ।

तर, यस पटक दाहाललाई कांग्रेस र एमालेको साथ छैन । यस्तो अवस्थामा दाहालले विश्वासको मत नपाउने निश्चित छ । तर, पनि उनीले शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आखिर नपाउने विश्वासको मतका लागि दाहाल किन ढिपी गरिरहेका छन् त ? प्रचण्ड जसरी पनि कांग्रेसलाई फकाउने रणनीतिमा लागेको विश्लेषक हरिहर पोखरेलको भनाइ छ ।

विश्वासको मत लिने दाहालको निर्णयमा राजनीतिक चाल स्पष्ट छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेको प्रधानमन्त्रीले विश्वासको मत नपाए स्वतः उपधारा ३ मा जानुपर्ने माओवादी केन्द्रको तर्क छ । यसमा केही कानुन व्यवसायीहरूले पनि समर्थन गरेको छ । अझ माओवादी केन्द्रले त उपधारा २ अनुसार नै नयाँ सरकार गठन भए अदालत जाने चेतावनी समेत दिएको छ । माओवादीका केन्द्र सचिव गणेश साह संविधानको धारा ७६ को ३ बमोजिम नै सरकार गठन हुने जिकिर गर्छन् ।

तर, सर्वोच्च अदालतको नजिर हेर्ने हो भने उपधारा २ अनुसार नै अर्को सरकार गठन गर्न मिल्ने अर्काधरी कानुन व्यवसायीको व्याख्या छ । दाहाल भने जसरी पनि उपधारा ३ मा पु¥याउन जोड बल गरिरहेका छन् । यसो गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा ठुलो दलको संसदीय दलका नेताका हैसियतमा प्रधानमन्त्री बन्छन् । र, फेरि एमालेलाई बाहिर राखेर कांग्रेससँग सहकार्य गर्न सकिन्छ कि भन्ने दाहालको दाउ छ ।