images

मन्त्री उपस्थित नभएपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं– सरकारका कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

सदनमा प्रस्तुत गरिने विधेयक सम्बन्धी मन्त्री नआएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सूचना टाँस गरी बैठक नै स्थगित गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे तोकिएको थियो । बैठकको सुरुमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची थियो ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख थियो । त्यसपछि आर्थिक विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने तालिका थियो । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयक पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउने कार्यसूची यसअघि नै तय गरिएको थियो । भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत र पारित गर्ने कार्यसूची पनि राखिएको थियो ।

बजेटसँग सम्बन्धित यी सबै विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने निर्धारित तालिका पनि प्रभावित भएको छ ।

राष्ट्रिय सभा नियमावलीको नियम ६ को उपनियम ५ मा बैठकमा सरकारका मन्त्रीको उपस्थिति अनिवार्य रूपमा हुनुपर्ने र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने व्यवस्था छ । अब अर्को बैठक आइतबार बस्ने सूचनामा उल्लेख छ ।