images

काँग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ- प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताए ।

शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।उनले संसद्को पहिलो र दोस्रो ठुलो दललाई विश्वासले नजोडेको जिकिर गरे ।

उनले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार नबनाउने बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार मात्र बनाउने मात्र नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने बताए ।

उनले भने, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिलकुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसद्को पहिलो र दोस्रो ठुलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईँहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरङ्कुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन । यहाँ त नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो सङ्घर्ष र ठुलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईँहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईँहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन् । तपाईँहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौँ आफ्नै पार्टी पङ्क्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ रु झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ रु’

उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।