images

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छः मन्त्री राणा

काठमाडौं– नवनियुक्त परराष्ट्र मन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छिन् ।

सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले उक्त कुरा बताएकी हुन् । उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठुलो जिम्मेवारी भएको भन्दै यसलाई सही रूपमा सदुपयोग गर्दै लैजाने बताइन् । उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् ।

उनले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य रहेको बताइन । उनले दौत्य सम्बन्ध कायम रहेका देशहरूको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताइन् । उनले विदेशमा गएका नेपालीहरूलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्,‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्टित राष्ट्र हो । हामी एकदम ठुलो देशहरूको बीचमा छौँ । हाम्रो पूर्वजहरूले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पीढीका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो । यो ठुलो सेना भएको देश पनि होइन, हामी ननएग्रेशनमा, पञ्चशीलमा विश्वास गर्ने देश हौं । यो जिम्मेवारीलाई अघि बढाउन पनि भूमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्छ पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । यो भन्दा पहिला पनि यस्ता अप्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठुलो भूमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’

उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताइन् ।