images

निर्माण व्यवसायीले गरे महाकाली सिँचाई कार्यालयमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अगुवाइमा महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरूले तालाबन्दी गरेका छन् । मङ्गलवार निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी नदिएको भन्दै विरोध स्वरूप तालाबन्दी गरेका हुन ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले गत आर्थिक वर्ष ०८०/०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । उनले भने ‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दा भन्दै टार्दै आयो, त्यो आर्थिक वर्ष पनि सकियो,तर सरकारी कार्यालयले भुक्तानी नदिएपछि आन्दोलनमा उत्तीर्ण बाध्य भएको बताए ।

अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन् । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ । बराह डेभलपर्स प्रालिका सब कन्टेक्टर भवानी कालिका निर्माण कम्पनी प्रालिका सञ्चालक हर्क बहादुर मल्लका अनुसार आफ्नो कम्पनीले बैङ्कको ऋण काटेर सरकारी काम गरेको तर अहिले आएर कार्यालयबाट भुक्तानी नमिलेपछि ताला लगाउन पुगेको बताए । काम गरेको ४ करोड रुपैयाँ बाँकी रहेको उनको भनाई छ ।

 

नागार्जुन विल्डर्स दोधारा चाँदनी-५ का सञ्चालक चन्द्र सिंह विष्टले काम गरेपश्चात् पनि भुक्तानी नपाउनु दुखद भएको भन्दै बजेटको सुनिश्चितता नभएरै काममा लगाएर कार्य सम्पन्न पश्चात् पनि निर्माण व्यवसायीले रकम नपाएपछि आन्दोलनमा उत्रनु परेको बताए ।

गाल्वा निर्माण सेवाका सब कन्टेक्टर कञ्चन राष्ट्रिय निर्माण कम्पनीका सञ्चालक पुष्पराज अवस्थीले कार्यालयको कामका लागि बैङ्कबाट ऋण निकालेर काम गरे पनि अहिले भुक्तानी नपाएको बताए ।

काम गरे पनि भुक्तानी गरिदिएन, अहिले त्यतिकै बैङ्कको ब्याज तिर्नुपरेको छ, ‘उनले भने, ‘हामीमाथि वित्तीय भारको सङ्कट थापेर कार्यालयले आफू उम्किन खोजेको छ ।’

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७ निर्माण कम्पनीको ४० करोड, ८४ लाख, ४६ हजार, ४७१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लुम्बिनी स्वच्छन्दबन्दन भगवती जेभीको १४ करोड, ३० लाख, ८९४ रुपैयाँ, आरोग्य भेगिम सोसाइटी जेभीको १ करोड, ८ लाख, २४ हजार ३९८ रुपैयाँ, गाल्वा निर्माण सेवा प्रालिको ३ करोड, २१ लाख, ७३ हजार, ५ सय ७ रुपैयाँ, बराह डेभलपर्स प्रालिको ४ करोड, ८२ लाख, ४९ हजार, ४५९ रुपैयाँ, केएस कन्स्ट्रक्सन प्रालिको ७ करोड, १५ लाख, ९८ हजार ७४० रुपैयाँ, नेपाल आदर्श÷तेज जेभीको ५ करोड, ४१ लाख, १९ हजार ५८४ रुपैयाँ र गीता साकुरा पावर जेभीको १६ करोड, ९१ लाख, ७९ हजार, ८८४ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

जिल्लामा सबैभन्दा बढी ४० करोड भन्दा बढी भुक्तानी गर्नुपर्ने तेस्रो चरणको भएकाले पहिलो पटक कार्यालयमा तालाबन्दी गरिएको निर्माण व्यवसायीहरूको भनाई छ ।

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय प्रमुख कुसाङ शेर्पाले माथिबाट बजेट नदिएपछि निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसकिएको बताए । ‘हो उहाँहरूले काम सम्पन्न गरेर कार्यालयमा बिल सहितका सबै प्रक्रिया पुरा गरिसकेका छन्, ‘उनले भने, ‘तर हामीले माथि मन्त्रालय, विभागका ताकेता गरेको रकम समेत पठाइदिएन ।

 

व्यवसायीको भुक्तानीका लागि कार्यालयले निरन्तर माथिल्ला निकायका ताकेता गरिरहेको कार्यालय प्रमुख शेर्पाले बताए ।