images

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरूको भिडभाड व्यवस्थापनको तयारी पूरा

काठमाडौँ– पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको बढी भीड लाग्ने गर्दछ । साउने सोमबारका दिन व्रतालु र बोलबमका श्रद्धालुहरूले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटि होम र शिवपुराण पाठ पारायण लगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।

यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । ती चार सोमबार, चार शनिवारका साथै साउन महिनामै परेका नाग पञ्चमी र गुरु पूर्णिमाको दिन पनि पशुपतिमा भक्तजनको भीड हुने गर्दछ । त्यसैले भक्तजनको सुविधा, सुरक्षा प्रबन्ध लगायतका तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए । भीडलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउनेदेखि दमकल र एम्बुलेन्सको पनि व्यवस्था गरिएको अधिकारीले बताए ।

पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनै पूर्णिमा जस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भए पनि साउन महिनामा भने महिनैभर भक्तजनको भीड लाग्ने गर्दछ ।