images

सिमलताल पहिरोमा परी बेपत्ता भएका १५ जना यात्रुको शव फेला

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमा रहेका यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलवारसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ ।

यसै गरी चितवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।

उनीहरूको शव आफन्तले बुझिलगेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । ६ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरूको शव चितवनको गोला घाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् ।

गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । बेपत्ता भएका दुवै बस भने अहिलेसम्म भेटिएको छैन । बेपत्ता बस र यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।