images

नक्कली डिएसपी बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ

बाँके– नेपाल प्रहरीको नायव उपरीक्षक (डिएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डिएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई मङ्गलवार कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डिएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको अभियोग छ ।

उनले केही व्यक्तिलाई धम्काएर ठगी गरेको सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विकका विषयमा केही उजुरी परेकाले पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताए ।

विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।