images

योजनाहरू शिलान्यास मात्रै गरेर छोड्नु हुँदैनः देउवा

काठमाडौँ–नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् ।

बुधवार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनै पनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए ।

उनले स्व।मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए । उनले मङ्गलादेवी सिंह आफैँमा एउटा संस्था भएको बताए ।

उनले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौंवासीको साथ र सहयोग चाहिने बताए ।

उनले भने, ‘आज मङ्गलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठुलो सौभाग्यको कुरा पनि हो । मङ्गलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभएर मङ्गलादेवी सिंह आफैँमा पनि मङ्गलादेवी सिंह हो । त्यस कारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मङ्गलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ ।

 

तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदिबहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’

सभापति देउवाले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मंगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।