images

अख्तियारमा एक वर्षको अवधिमा साढे २६ हजार उजुरी दर्ता

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो १२ महिनामा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै करिब साढे २६ हजार उजुरी दर्ता भएका छन् ।

आयोगका अनुसार यो अवधिमा २६ हजार ५ सय २२ उजुरी दर्ता भएका छन् । अघिल्लो वर्ष फर्छ्योट हुन बाँकी ९ हजार २ सय ६८ उजुरी थिए । यो वर्ष कुल ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट भएको अख्तियारले जनाएको छ ।

पछिल्लो एक वर्षमा रङ्गे हात पक्राउका ३२ घटनामा ४४ जना पक्राउ परेको र तीमध्ये ३२ जना राष्ट्र सेवक कर्मचारी भएको अख्तियारको तथ्याङ्क छ ।

यस्तै यो अवधिमा गैह्र कानुनी लाभ हानीमा ५८, घुस रिसवतमा ४८, नक्कली शैक्षिक प्रमाणपत्रमा ३४, सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ३४, राजस्व चुहावटमा १३, गैह्र कानुनी सम्पत्ति आर्जनमा ११ र विविधतर्फ ३ सहित कुल २ सय १ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

यी मुद्दामा कुल एक हजार ५ सय २० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमा राष्ट्र सेवक कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधिहरू एक सय १ र मनोनीत पदाधिकारीहरू एक सय ८१ जना छन् ।