images

नेपाल प्रतिभाहरू भएको देश हो: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, सङ्गीतलगायतका प्रतिभाहरू भएको देश भएको बताएका छन् ।  छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

 भारतीय चर्चित रियालिटी शो इन्डियन आइडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, सङ्गीत, वाद्यवादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गरे । त्यस अवसरमा उनले नेपालमा विभिन्न विधाको प्रतिभाहरू रहेको ठाउँ भएको र उनीहरूलाई खोजी खोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंसा पनि गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘कला, संस्कृति, सङ्गीत, वाद्यवादन, गायन । यी सबै कुरामा यो ठाउँ त्यसलाई बुझ्न पनि जान्ने, चिन्न पनि जान्ने र त्यसलाई प्रस्फुटित गर्न जान्ने, त्यसलाई विकास गर्न सक्ने यो ठाउँ हो । आज हामी यस ठाउँका यिनै कलाकारहरूको सम्मान गरिरहेका छौँ । हाम्रो अगाडि कलाकार हुनुहुन्छ मेनुका पौडेल । उहाँ नेत्रविहीनको स्थितिमा हुनुहुन्छ । तर, उहाँले नेपालमा मात्र होइन, विदेशमा समेत गाएर तहल्का मच्चाउनु भएको छ । यो यस्तो प्रतिभाको ठाउँ हो । सङ्गीतमा सङ्केत चिन्हहरू उहाँले देख्न सक्नुहुन्न । तर देख्न पर्दैन उहाँलाई । त्यसको कहाँनिर कस्तो धुन छ भन्ने कुरा उहाँलाई थाहा छ । त्यसो भएर यो प्रतिभाहरूको देश हो । यहाँका प्रतिभाहरू सम्मानित हुनु भएको छ । खुसी व्यक्त गर्दछु । यस्ता प्रतिभाहरूलाई खोजी खोजी सम्मानित गर्ने, प्रशंशित गर्ने, खोजी खोजी खानीबाट हिरा कटिङ गरेर चम्काएर देखाउने त्यो काम छिन्नतला पुरस्कार गुठीले गरेको छ । म धन्यवाद भन्न चाहन्छु । ’

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भूषण खरेललाई प्रदान गरेका थिए । त्यसै गरी उनले सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, सङ्गीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए । छिन्नलता गीत, सङ्गीत र गायनको पुरस्कारको राशि जनही एक लाख रहेको छ ।