images

राष्ट्रिय सभा गृह डुबानमा

काठमाडौँ– जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौँ महानगरपालिका आफैँ चुवानमा परेको छ ।

बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ ।

बुधवार राति भएको वर्षाका कारण सभागृह चुवानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ।एम, नगर प्रहरी सुरक्षा कक्ष पनि चुवानमा परेको हो ।

केही दिनअघि परेको वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यस बेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि ग¥यो । तर काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो ।

हरेक वर्षा याममा घण्टाघर, रत्नपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदल मार्ग करोडौँ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण ठुलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ ।

त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लब तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनः निर्माणका गर्दै गर्दा पश्चिम तर्फको ढलको मङ्गलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह चुवानमा परेको हो ।

सभागृह चुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डङ्गोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रसारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही बिहानैदेखि चुवानमै लाइन बसिरहेको देख्न सकिन्छ ।