images

भारत र बङ्गलादेशका ऊर्जा मन्त्री नेपाल आउँदै

काठमाडौँ– नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीको उपस्थितिमा बङ्गलादेशमा विद्युत् निर्यातको लागि सम्झौता हुने भएको छ ।

साउन १३ गते ३ देशका ऊर्जा मन्त्रीको उपस्थितिमा त्रिपक्षीय हस्ताक्षर हुने तय भएको हो । नेपालले उत्पादन गरेको विद्युत् बङ्गलादेशले खरिद गर्ने सहमति भइसकेको छ । नेपालको विद्युत् भारतीय प्रसारण लाइन प्रयोग गर्दै निर्यात हुने भएकाले त्रिपक्षीय सम्झौता हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपाल र बङ्गलादेशका ऊर्जा सचिव र सहसचिवहरूको समेत बैठक हुने तय भएको छ । उक्त बैठक साउन १४ र १५ गते पोखरामा हुनेछ । यसअघि असार ९ र १० गते पोखरामा बैठक हुने तय भएकोमा बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नरसरुल हमिद नै आउने भएपछि बैठक स्थगित भएको थियो ।

विद्युत् प्राधिकरणले विद्युत् व्यापारको सम्झौता लगत्तै वर्षातमै बङ्गलादेशमा विद्युत् निर्यात सुरुवात गर्ने तयारी गरेको छ । सम्झौतासँगै नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्नेछ । प्रतिमहिना २८ हजार ८ सय मेगावाट बिजुली निर्यात हुनेछ ।