images

देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ: सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग थाहा पाएको बताएका छन् ।

बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै लामिछानेले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको बताए ।

उनले गोपनीयताको शपथ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने बताउँदै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको  दाबी गरे । उनले २१ जना भ्रष्टहरूलाई संसद्मा जान रोकेर आफूहरूले राम्रा मान्छे ल्याएको दाबी गरे।

उनले भने, ‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको ? भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन् । पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदा खेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन ।  तर हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नका लागि सिंहदरबार कसरी चल्दै छ भन्ने कुरा हेर्नै पर्छ । जति गाली खाएर भए पनि केही समय सरकारमा जानु नै थियो । अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म भएँ । अरू साथीहरू २४ दिन जति हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन । अब अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहिँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनीयताको शपथ खाएका छौँ, सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रो सँग थाहा पायौँ । यो ठुलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अप्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरूलाई रोकेर हामीले संसद्मा आएका छौँ ।’

सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताए ।