images

धान खेतीका लागि भारतीय श्रमिकको भर

कपिलवस्तु–मनसुन सुरु भए सँगै देश भरि नै कृषकहरू धान रोपाइँका लागि व्यस्त भई रहँदा खेतबारी बढी भएका कपिलवस्तु जिल्लाका केही कृषकहरूलाई भने खेत बाँझो हुने चिन्ताले सताएको छ । उनीहरूले वर्षेनी भारतको विहार जिल्ला चम्पारन पुगेर श्रमिक बोलाएर रोपाइँ गर्ने गरेका छन् ।

कपिलवस्तु जिल्ला धान खेतीका लागि भण्डार नै मानिन्छ । तर विगत केही वर्ष देखि युवा जनशक्ति विदेश पलायन हुँदा अधिकांशको जग्गा बाँझो हुने देखिएको छ । साथै धान रोपाइँका लागि जिल्लामा आधुनिकीकरण यान्त्रिक विधि समेत अभाव रहेको यशोधरा गाउँपालिका–३ वसन्तपुरका रमेश मिश्रको गुनासो रहेको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४ सय ४३ हेक्टर धान खेतीको लागि योग्य जग्गा मध्ये कपिलवस्तु जिल्लामा ६९ हजार ४ सय ८० हेक्टर जग्गामा धान खेतीको लागि योग्य जग्गा रहको छ । जस अन्तरगत प्रदेशको १६ प्रतिशत धान खेती कपिलवस्तु जिल्लामा हुने गर्दछ । विगत केही वर्षदेखि धान खेती गर्नका लागि मानिसको अभाव र परम्परागत खेतीलाई विस्थापित गरेर प्रविधिको विकास सँगै आएको कृषि मेसिनहरूको प्रयोग नबढाउँदा जिल्लाको विगत २ वर्षमा धान खेतीमा कमी आएको देख्न सकिन्छ । जसमा जिल्ला ०७९/०८० मा ६८ हजार ५ सय ८० हेक्टर धान खेती भएकोमा ०८०/०८१ मा त्यो घटेर ६५ हजार ८ सय ६६ हेक्टर धान खेती भएको तथ्याङ्कबाट बुझ्न सकिन्छ ।

धान रोपाइँका लागि केही वर्ष पहिले दाङ जिल्लामा श्रमिक ल्याउने गरेकोमा युवाहरू विदेश पलायनपछि भारतको विहार राज्यबाट धान रोपाइँका लागि श्रमिक ल्याउने गरेकोमा प्रत्येक वर्ष श्रमिकको खर्चमा बढोत्तरी भइरहेको र जिल्लामा कृषि आधुनिकीकरण प्रति सरकार सचेत नहुने हो भने आउनु पुस्ता धान खेती प्रति आकर्षित नहुने कृषकको भनाई रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुले जिल्लामा ०७३/०७४ देखि नै जिल्लामा कार्य गर्दै आएको र धान सुपर जोन अन्तरगत परियोजनाले कृषिमा यान्त्रीकरण,आधुनिकीकरण र बजारीकरण गर्दै आएको र जिल्लामा धान रोपाइँका लागि यान्त्रीकरण न्यून रहेकाले भारतबाट श्रमिक ल्याएर खेती गराउनु पर्ने बाध्यता कृशहरूको रहेको छ ।

जिल्लाका किसान पेडि ट्रान्सप्लान्ट जस्तो उपकरणमा जानु पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुका प्रमुख सहसराम चौधरीको भनाई रहेको छ ।