images

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंगलबार कार्यालय बन्द गर्ने

काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । नेपाली कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले शोकप्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो । ढुंगानाको निधनको शोकमा कांग्रेसले एक सय दिने अभियान आज एक दिन रोक्ने र भोलिबाट पुनः सुरु गर्ने जनाएको छ ।

ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए । उनको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको कांग्रेसले जनाएको छ ।