काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई ब्याट्सम्यान जयकिसन कोलसावला र विलियम बसिस्टोको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।
कर्णालीका लागि जयकिसानले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५३ रन बनाए भने बसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रन जोडे। चाडविक वाल्टनले नटआउट २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ रन बनाएको खेलमा गुल्सन झा र रित गौतम शून्यमा आउट भए। देव खनाल तीन रन बनाउँदा रन आउट हुँदा कप्तान सोमपाल कामीले एक बलको मात्र सामना गरे।
चितवनका लागि सोएल तनवीरले दुई विकेट हात पार्दा शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले एक एक विकेट लिए। अब चितवनले जवाफी ब्याटिङ गर्दैछ।