images

चिसो सिरेटो र हुस्सुले तराईको जनजीवन कष्टकर

काठमाण्डौ । चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।

हुस्सु र सिरेटोसँगै बढेको चिसोले बजार तथा कार्यालयहरुमा चहलपहल घटेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । नागरिकलाई चिसोबाट बचाउन प्रदेश र पालिका सरकारले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ । तर मधेश प्रदेश सरकारले राहत पठाउने र जनचेतना बढाउने काम भइरहेको दाबी गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्र कुमार यादवले सबै जिल्लामा कम्बल पठाएको जानकारी दिए। नेपाली सेनामार्फत सबै जिल्लाहरुमा कम्बल पठाइएको र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन कार्यालयले पालिकासँग समन्वय गरेर वितरण गर्ने उनको भनाइ छ ।