काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस सकिएको छ । आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् । अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ ।
यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।
लामिछानेसहित पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाईं, पूर्व सांसद तथा संस्थापक उपाध्यक्ष मिना गुरुङ, संस्थापक सदस्य मिना कै बाबु कृष्णबहादुर र पूर्व कोषाध्यक्ष आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।
उनीहरू ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।