images

 यु–१९ महिला विश्वकप: आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ ।
नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पूजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । यस्तोमा यस खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ ।
नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो । दुवै टोलीले यस खेलमा सुधारिएको ब्याटिङ गर्ने अपेक्षा राख्ने छन् ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्।
नेपालको समूह चरणको अन्तिम अर्थात् तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।