
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ ।
लिग चरणको अन्तिम खेलमा आज साँझ घरेलु टिम नेपालले बलियो प्रतिद्वन्द्वी म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।
नेपाल र म्यानमार यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारबीचको लिग चरणको अन्तिम खेललाई फाइनलअघिको वार्मअपका रूपमा पनि लिइएको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १—० गोलअन्तरले पराजित गरेको थियो ।
म्यानमारले भने किर्गिस्तानलाई ५—० र लेबनानलाई ३—१ गोलअन्तरले हराएको थियो । नेपालले अहिलेसम्म म्यानमारसँग चार खेल खेलेको छ । चार खेलमा नेपालले म्यानमारसँग तीन खेलमा पराजय भोगेको छ भने एक खेल बराबरीमा सकिएको छ ।
नेपाल र म्यानमार भिड्नुअघि प्रतियोगिताबाट बाहिरिइसकेका किर्गिस्तान र लेबनान आमनेसामने हुनेछन् । यी दुई टिमबीचको खेल दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । नेपाल र म्यानमारबीचको फाइनल खेल भने बुधबार हुनेछ ।