
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलमा उपाधिको खडेरी छ । एकपटक दुईपटक होइन १३ औं पटकसम्म पनि नेपाली महिला फुटबल टोलीले फाइनलमा अभागीको ट्याग हटाउन सकेको छैन । बुधबार दशरथ रंगशालामा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० गोल अन्तरले पराजित भएको छ, जसले नेपाली टिमको फाइनल खेल्ने तर उपाधि नजित्ने सिलसिला निरन्तर राखेको छ । फलस्वरूप हजारौं दर्शक अनि टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका लाखौँ नेपाली समर्थकहरू फेरि एकपटक एक पीडादायक पराजयको साक्षी बन्नु पर्यो ।
नेपालमा पछिल्लो समय खेल मोह निकै बढेको छ । क्रिकेट होस् या फुटबल या त भलिभल नै किन नहोस् दर्शकले मैदान भरिभराउ नै हुन्छ । तर दर्शकहरू खुसी हुँदै मैदानबाट बाहिरिन भने कमै पाएका छन् । नेपालले यो पाली पनि मन जित्यो भन्दै चित्त बुझाउनु बाहेक दर्शकसँग अरू विकल्प नै के हुन्छ र? कतिपय खेलको फाइनलमा हेर्ने हो भने नेपाल अभागी बन्दै आएको छ । एकपटक दुईपटक होइन १३ औं पटकसम्म पनि नेपाली महिला फुटबल टोलीले फाइनलमा अभागीको ट्याग हटाउन सकेको छैन । फेरि पनि नेपाली महिला फुटबलले त्यही नियति भोग्नु परेको छ ।
बुधबारमात्र अपराजित रहँदै फाइनलमा पुगेको नेपाली महिला फुटबल टोलीले म्यानमारसँग २–० गोलको हार व्यहोर्नु पर्यो। एन्फाले म्यानमार, लेबनान र किर्गिस्तान बोलाएर पहिलो पटक चार राष्ट्र सहभागी भएको इन्टरनेसनल वुमन्स फुटबल आयोजना गरेको थियो । बुधबार दशरथ रंगशालमा १५ हजार बढी दर्शकको माझ भएको च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएपछि फेरि उपविजेतामै सीमित भयो । जसले गर्दा नेपालको उपाधिको खडेरी अझै लम्बिने भएको छ । नेपाली महिला टिमले १३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । नेपालको महिला टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशक पुग्न लाग्दा पछिल्लो डेढ दशक नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर पनि नेपाल फाइनल पुग्ने अनि पराजित हुने पुरानै परम्परा भने कायम नै छ ।
नेपाल सबैभन्दा धेरै साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पराजित भएको छ । अहिलेसम्म साफमा ६ पटक फाइनल खेल्दा नेपाल ६ पटक नै पराजित भएको छ । यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा पनि तिनपटक नेपाल फाइनलमा नै पराजित भएको छ । यस्तै हिरो गोल्डकप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिप र अहिले इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा समान १ पटक फाइनलमा पराजित भएको छ । नेपालले साफ वुमन्स च्याम्पियनसिपको डेढ दशक लामो इतिहासमा सर्वाधिक ६ पटक फाइनल खेले पनि अझै उपाधिविहीन छ । नेपाल सबै खाले गरी भारतसँग ७ पटक फाइनलमा पराजित भएको छ भने बंगलादेश र म्यानमारसँग समान दुई पटक तथा उज्बेकिस्तान र जोर्डनसँग १–१ पटक फाइनलमा पराजित भएको छ ।
नेपाली महिला फुटबल टिमले बारम्बार फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ । उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म पुगे पनि अन्तिम खेलमा सफलता हासिल गर्न नसक्नु रणनीति, आत्मबल र दबाबसँग जुझ्न नसक्ने कमजोरीको संकेत भएको खेल विश्लेषकहरूको बुझाइ छ । नेपाली टोलीको केही पक्षमा अहिले पनि प्रशस्त सुधारको आवश्यकता देखिएको छ । नेपाली रक्षापङ्क्तिमा लगातारजसो गल्ती रोकिएको छैन । यस्तै गोलकिपरको कमजोरी र सावित्रा भण्डारी र रेखा पौडेल बिच तालमेलमा कमी देखिनु पनि नेपाली टिमलाई टाउको दुखाई बनेको छ । तसर्थ अब यो सिलसिला तोड्नु नेपाली महिलाका फुटबलका लागि मुख्य चुनौती हो ।