
काठमाडौं । नेपाल जैविक विविधताले धनी देश हो तर बढ्दो वन डढेलोका घटनाले वातावरणीय संकट निम्त्याइरहेको छ । विश्वको २५ औँ तथा एशियाको ११ औँ जैविक विविधतायुक्त राष्ट्र नेपालमा कुल भू–भागको ४५.३१ प्रतिशत भू–भाग वनले ढाकेको छ । तर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा वन क्षेत्र बरदानभन्दा अभिशाप बन्दै गएको चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् । सन् २०२४ मा नेपालमा मात्रै ५२०५ वटा वन डढेलोका घटनाहरू भएका छन् । जसले ७४ जिल्लालाई प्रत्यक्ष प्रभावित पारेको छ । पछिल्लो १५ वर्षको तथ्याङ्क अध्ययन गर्दा वन डढेलोका घटनाहरू दोब्बरभन्दा बढीले वृद्धि भएको पाइन्छ । वन क्षेत्रमा सुकेको जैविक पदार्थको संकलन नहुनु र मानव लापरबाही जस्ता कारणले डढेलोको घटनाहरू निरन्तर रूपमा बढिरहेका छन् ।
वन डढेलो नियन्त्रण गर्न सरकार, सुरक्षा निकाय र विभिन्न संघ–संस्थाहरूले पहल गरिरहेका भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । गत माघ महिनामा मात्रै ११० वटा वन डढेलोका घटनाहरू भएका छन् । जसबाट मुलुकका २३ जिल्ला प्रभावित भएका छन् । त्यस्तै सन् २०२४ मा मात्रै ७४ जिल्लामा ५ हजार २ सय २ आगलागी तथा वन डढेलोका घटनाहरू भएको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा वन डढेलोको कारण औषत रूपमा वार्षिक ८ जनाको मृत्यु, ८ जना घाइते, ९१ वटा घर गोठ नष्ट हुने गरेको प्राधिकरणको तथ्यांक छ । आ.व. २०६१/६२ देखि २०८०/८१ सम्म आगलागी १४३ जनाको मृत्यु, १४० जना घाइते भएका छन् भने १ हजार २७१ वटा घर गोठ जलेर नष्ट भएका छन् । आगलागी तथा वन डढेलोका घटनाहरू बढ्नुका अनेक प्राकृतिक कारण भएपनि परम्परागत सोचका कारण मान्छेले घाँसे जमिन र जंगलमा आगो झोस्दा अधिकांश डढेलाका घटनाहरू भएको देखिन्छ ।
वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले वन डढेलो नियन्त्रणका लागि बनाइएको वन ऐन र नियमावली पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् । डढेलो नियन्त्रणभन्दा बाहिर गएर विपद्को अवस्थामा पुगे नेपाल सरकारका सम्बन्धित निकाय, समुदाय र स्थानीयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनको जोड छ । स्थानीय स्तरमा जनशक्ति नहुनु र सानो आगलागीका घटनाका लागि समेत सुरक्षा र मन्त्रालयको मुख ताक्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।
वन डढेलो फैलिनुको अर्को प्रमुख कारण वनभित्र थुप्रिएका सुकेका रुखहरू पनि रहेको विज्ञहरूले बताएका छन् । पहाडमा जनसंख्या कम भएर पनि वन क्षेत्र बढ्दै गएको छ, जसले गर्दा घरायसी दाउराको प्रयोग घटेको छ । यसले गर्दा वनमा स्याउला र सुकेका रुखको मात्रा बढेर डढेलो फैलन सहयोग पुगेको छ । वन डढेलो र आगलागीका घटना न्यूनीकरण व्यवस्थापन र प्रतिकार्यको लागि नेपाल सरकारसँग नीत, ऐन–कानून र नियमावलीको कमी छैन । तर डढेलो न्यूनीकरणका लागि तीन सरकारले छुट्याउने बजेट कर्मकाण्डी हुँदा हरेक वर्ष क्षति व्यहोर्नु परिरहेको छ ।