images

अत्यधिक गर्मी र तातो हावाको कारण विद्यालय बन्द

कपिलवस्तु–केही दिन देखी अत्यधिक बढ्दै गइरहेको गर्मी र तातो हावाको कारण कपिलवस्तु नगरपालिकाले विद्यालयहरू बन्द गरेको छ । कपिलवस्तु नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरेको जनाएको छ ।

गर्मीका कारण विद्यार्थीहरू बेहोस हुने लगायतका बिरामी पर्न थालेको र अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा असर पर्दा विद्यार्थीलाई पठनपाठन क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएकाले नगरपालिकाले ज्येष्ठ तीन दिन (१६ देखी १८) गते सम्मका लागि विद्यालय बन्द गरेको हो । कपिलवस्तु नगरपालिकामा मात्र ५२ वटा सामुदायिक विद्यालय ३० वटा संस्थागत तथा २७ धार्मिक विद्यालय रहेका छन् ।

कपिलवस्तुकोमा विगत १ हप्ता यता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस माथि रहेका कारण विद्यालय बन्द गर्नु परेको कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले जानकारी दिए । अत्यधिक गर्मी बढेको र अधिकांश विद्यालयमा टिनको छाना भएको कारणले गर्दा पठन पाठनमा असहजता सृजना भएको कारणले गर्दा बर्खे बिदा वाट कट्टा हुने गरी बिदा दिइएको पालिकाको भनाई रहेको छ ।

गर्मीका कारण स्थानीय बजारमा समेत चहलपहल घट्नुका साथै समग्र जीवन शैली नै प्रभावित पारेको स्थानीय सतिस कुमार उपाध्यायले जानकारी दिए ।