images

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास, बिजुली निर्यात गरे देश समृद्ध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र देशको आर्थिक वृद्वि तथा गरिबी घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, “नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्दछु ।”

एमसिसी परियोजना पूरा भएपछि नेपालको समग्र अर्थतन्त्र सुदृढ बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । उनले यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको निर्माण हुने विश्वास व्यक्त गर्दै विद्युत् प्रसारण लाइन बनेपछि बिजुली निर्यात सहज हुने र त्यसले देशको आर्थिक उन्नयनमा योगदान गर्ने बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा सघाउने एमसिसी कार्यान्वयनबाट उन्नत सडक एवं भरपर्दो विद्युत् आपूर्ति भई नेपाली जनता लाभान्वित हुने बताए । उनले परियोजनामा नेपाल सरकारको समेत लगानी रहेकाले परियोजना कार्यान्वयनमा अवरोध गर्ननहुनेमा जोड दिँदै सरकारका तर्फबाट परियोजना सम्पन्न गर्न हरसंवभ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा एमसिसी परियोजनाले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारसँगको सहकार्यमा परियोजना विकास गरिएको स्पष्ट पारे । परियोजनाका कार्यक्रम र लक्ष्यमा दुवै पक्षको समान स्वामित्व रहेको उनले बताए ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्सनले एमसिसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासमा सहयोग गर्ने महत्वपूर्ण अमेरिकी प्रयास भएको उल्लेख गर्दै नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।

अमेरिकी अनुदान कार्यक्रममार्फत नेपाल सरकार र एमसीसीले नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएका परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने अपेक्षा गरिएको छ ।

लामो बहसपछि संसद्ले गत वर्ष मात्र यस सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक आयोजनाको काम शुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ ।

अर्थमन्त्री डा महत र एमसीसीका कम्प्याक्ट कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले गत भदौ १३ गते पाँच वर्षे परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको घोषणा गर्दै त्यससम्बन्धी सहमतिपत्र आदानप्रदान गरेका थिए । रासस