images

एसइई परीक्षाको तयारी पूरा, ५ लाख ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सबै तयारी पूरा भएको जनाएको छ ।

चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा सञ्चालन गर्न देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ । साथै परीक्षाका लागि प्रश्न पत्र, उत्तर पुस्तिकालगायत सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउने  तयारी पनि पूरा भएको बोर्डले जनाएको छ ।