images

कांग्रेस कोसी प्रदेशले पठायो आकाङ्क्षीहरूको नाम‚ आचार्यको नाम पहिलो नम्बरमा सिफारिस

काठमाडौं – नेपाली कांग्रेस कोसी प्रदेशले इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनका लागि आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो ।

उनले जिल्ला कार्यसमितिले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको जानकारी दिए । प्रदेश समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रोमा पूर्व सांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । “कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौँ । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ‚” उनले भने ।

कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकाङ्क्षी उम्मेदवारहरूको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । जिल्ला पनि क्षेत्रीय समितिले पठाएको नाम जस्ताकै त्यस्तै प्रदेशलाई पठाएको गौतमको भनाइ छ । “क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपिसहित प्रदेशमा पठाएका हौँ‚” उनले भने ।

कांग्रेसको क्षेत्रीय कार्यसमितिले गएको मङ्गलवार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकाङ्क्षीहरूको नाम पठाइएको हो ।

“क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौँ । दोस्रो नम्बरमा पूर्व सांसद केशव थापाको नाम सिफारिस गरेका छौँ‚” उनले भने । समितिले तेस्रोबाट क्रमशः जिल्ला सभापति डम्बर खड्का‚ संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरेको उनले जानकारी दिए ।

बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो । काङ्ग्रेसबाट मुख्य गरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकाङ्क्षीका रूपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ ।

राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यस पटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरू काठमाडौं केन्द्रित छन् । विशेष गरी आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरूको घरदैलो गरिरहेका छन् । क्षेत्र, जिल्ला र प्रदेश समितिले एक नम्बरमा नाम सिफारिस गरेपछि आचार्य समूह उत्साहित छ ।