images

गाेरखाका मीनबहादुर घलेको समूहद्वारा १३८ किलो सुन तस्करी, १४ किलो मात्रै बरामद

काठमाडौं। गोरखाका मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले घले र उनको समूहले पटक–पटक गरी १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।

मंसिर २२ गते दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेपछि उनकै बयानका आधारमा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । त्यसपछि छानबिनका लागि गठन भएको समितिले गरेको अनुसन्धानमा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएको खुलेको छ ।

पटक–पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र बरामद भएको समितिले जनाएको छ ।

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने र एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ । एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्वकर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।