images
images

गृहमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसद्वारा सदन अवरुद्ध, चार गतेसम्मका लागि बैठक स्थगित 

काठमाडौं–गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसका सांसदले संसद् अवरुद्ध पारेका छन्।
शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठक सुरु हुने वितिक्कै कांग्रेस सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाए। उनीहरू विरोधबिच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यस लगत्तै कांग्रेस सांसदले रोस्टम घेराउन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे। कांग्रेस सांसदले नाराबाजी नवरोकपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक चैत ४ गते बिहान ११ बजे बस्ने गरी सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।
शुक्रवार बिहान प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै कांग्रेस सांसदले विरोध जनाएका थिए। उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेका थिए। त्यसमा सभामुख घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद्को कामकारबाही चलेको थियो।
शून्य समय र विशेष समयमा सांसदहरूले बोलेका थिए। त्यस्तै, कार्य व्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देश सहित आएको विधेयक टेबुल गरिएको थियो।
त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाएका थिए।
उनीहरूले पहिलो प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए। प्रधानमन्त्रीले जवाफ नदिँदासम्म विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफललाई बाहेक अन्य कामकारबाही गर्न नदिने बताएका थिए।
कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। दुई घण्टापछि सुरु भएको दोस्रो बैठकमा कांग्रेसले नाराबाजी गरेको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS