काठमाडौं– सहकारी ठगी प्रकरणमा फरार रहेका सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईलाई पक्राउ गरी नेपाल पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा कूटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर सुपुर्दगी गर्न कूटनीतिक च्यानलबाट अनुरोध गरेको हो ।
उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’बाट रेड नोटिस जारी भएको छ । यसअघि १३ माघमा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । पोखरास्थित सूर्य दर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् ।
सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बागलुङ घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । राइ विरुद्ध सुप्रिम सहकारी ठगीमा पनि रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।