images

नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्र बिचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

मङ्गलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि बाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भए पनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा उनले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताएका थिए । निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरू अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई थियो । उनले लगानी सम्मेलनका लागि प्रस्तावित परियोजनाहरू तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता उपाध्यायले बताए ।

उनले भने ‘अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्युले निर्देशन पनि दिनुभयो । त्यसमा अध्यादेशमार्फत भए पनि ऐन संशोधन गर्न किन खोजियो भन्ने विषयमा उहाँले के भन्नुभयो भने यो निजी क्षेत्रलाई आकर्षित नगरीकन राष्ट्रको विकास हुँदैन । विश्व परिवेशमा हेर्दा खेरी जुन देशमा निजी क्षेत्रलाई पर्याप्त लगानीका सम्भावनाहरू उजागर गरेर उनीहरूको बाधा अवरोधहरू फुकाइएको हुन्छ, त्यस्ता देशमा चाहिँ राम्रो विकास भएको देखिएको छ । त्यस कारण नेपालमा पनि लगानीको क्षेत्रमा देखिएका बाधाहरू हटाउनका लागि निजी क्षेत्रले प्रयास गर्नुपर्छ । र त्यो निजी क्षेत्रलाई सपोर्ट गर्ने काम चाहिँ सरकारले गर्नुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको आशय रहेको थियो । त्यस्तै गुणात्मक सहकार्य हुनुपर्छ । निजी क्षेत्र र सरकारको बिचमा चाहिँ गुणात्मक पब्लिक, प्राइभेट पार्टनर सीस सहकार्य हुनुपर्छ । त्यो भयो भने मात्रै देशका विकासका सम्भावनाहरू अझै उजागर हुँदै जान्छ भन्ने कुरा उहाँले राख्नु भयो । र जबसम्म निजी क्षेत्रलाई यो विकासको सम्बन्धमा विश्वासमा लिइँदैन, तबसम्म लगानीका सम्भावनाहरू र देश विकासका जुन उद्देश्यहरू तय गरिएको छ । त्यो उद्देश्य हुन सक्दैन भन्ने उहाँले निर्देशन दिनुभएको छ । यो परियोजना सोकेसको सम्बन्धमा पनि उहाँले अहिलेसम्म लगानी बोर्डले परियोजना सोकेसका लागि जुन होमवर्क गरेको छ । त्यसको लागि उहाँले धन्यवाद पनि दिनुभयो । र अब लगानी सम्मेलनको जुन तयारी भएको छ । त्यो सम्बन्धमा अझै तीव्र गतिमा जति गर्न सकिन्छ, त्यो गर्नका लागि पनि निर्देशन दिनुभयो । यसरी समग्रमा आजको यो ५८ औँ बोर्ड बैठकले यिनै निर्णय गरेका हुन् । ’

बैठकमा केही परियोजनाहरू लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही वैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दै छ ।