images

पूर्वपरराष्ट्रमन्त्री र राजदूतसँग मन्त्री साउदले गरे छलफल

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले आज (मंगलबार) पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन्।भारतीय विदेश मन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारी का सिलसिलामा उनले छलफल गरेका हुन्।

छलफलका क्रममा पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरुमा सुझाव लिएका छन् । उनीहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिए।

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनु पर्ने, विद्युत व्यापारलाई विस्तार गर्नु पर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरु समयमै सम्पन्न गर्न जोड दिनु पर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नु पर्ने आदि विषयमा पनि उनीहरुले सुझाव दिएका हुन।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डाभेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंह लगायतको सहभागिता रहेको थियो।