images

पोखरा ७४ रनमा अल आउट, चितवनको लगातार दोस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो ।मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । १६औ ओभरको अन्मि बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।