images

मंगलबार पाथीभरा मन्दिर दर्शनमा बन्यो रेकर्ड, एकै दिन साढे ८ हजार दर्शनार्थी पाथीभारामा

फुङ्लिङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा एकै दिन आठ हजारभन्दा धेरै भक्तालुजनले पूजापाठ गरेका छन् ।

कात्तिक १४ गते मंगलबार पाथिभारा मन्दिरमा आठ हजार पाँच सय भक्तजनले पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै संख्या रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताए ।

महतका अनुसार दसैँको नवरात्रदेखि दसैँ अवधिभरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मङ्गलबार साढे आठ हजारले पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे हम्मे परेको महतले बताए ।

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन् ।

दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ । यस वर्ष दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि दिनप्रतिदिन भक्तजनको घुइँचो लाग्न थालेको हो । रासस