images

माओवादी नेता शर्माले गरे पार्टी परित्यागको घोषणा 

काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।
पार्टीमा गुटगत राजनीति मौलाएको र कार्य विभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन् । शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिई नसकेको, तर राजनीतिमा नै रहने बताएका छन् ।
आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष दाहालसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ ।
शर्माले पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटै गुटका महासङ्घमा रूपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै गएको आरोप लगाएका छन् ।
नेता शर्माले अध्यक्ष दाहालमाथि जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशातर्फ धकेलेको आरोप पनि लगाएका छन् ।