images

युवा पलायन रोक्न के गर्दैछ सरकार ?

काठमाडौं–सरकार रेमिट्यान्सको तथ्यांक देखाएर अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहेको छ । तर, रेमिट्यान्सको लोभमा देश खोक्रो बन्दै गएकोतर्फ भने सरकारले ध्यान दिन सकेको छैन । रोजगारीको खोजीमा विदेशीनेको संख्या बढ्दै जाँदा अहिले नेपालको गाउँ बस्ती रित्तिँदै गएको छ । जसले कालन्तरमा बिकराल समस्या नल्याउला भन्न सकिँदैन ।

केही समय अघि नेकपा एमालेले मध्यपहाडी यात्राका क्रममा देखिएको कहाली लाग्दो अवस्था सार्वजनिक गरेको थियो । गाउँमा बिरामी पर्दा अस्पताल लैजाने र मर्दा मलामी जाने युवासमेत छैनन् । खेतबारी बाँझै छन् अधिकांश घर ताल्चा लाग्ने अवस्थामा पुगेको छ । यस्तो अवस्था किन आयो र कसरी समाधान गर्ने भन्नेमा सरकार मुकदर्शक बनेको छ । सरकारले त केबल रेमिट्यान्स मात्रै देखेको छ । हरेक दिन त्रिभुवन विमानस्थल हुँदै बाहिरिने युवाको ताँतीले देशमा सरकार नभएको आभाव गराइरहेको छ ।

देशको शक्तिको रुपमा रहेको युवा पलायन बढ्दै जाँदा पनि सरकार भाषणबाजीमा मात्रै केन्द्रित भएको छ । न त सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको छ न युवालाई स्वदेशमै रोक्ने स्पष्ट नीति ल्याउन सकेको छ । स्वदेशमा युवाहरुका लागि आकर्षणका बाटोहरु देखाउन नसक्दा दिनानुदिन विदेश पलायन हुनेहरुको संख्या बढिरहेको अभिभावकहरु बताउँछन् । अर्को कुरा स्वदेशमै रोजगारीको अवसर सिर्जना भएपनि विदेशिने युवाहरुको संख्या कम गर्न नसकिनेतर्फ पनि बहस चलेको छ । देशमा बन्द भएका उद्योग, धन्दाहरु सञ्चालनमा ल्याएर जतिसक्दो पलायन हुने युवा जनशक्तिलाई यतै रोक्न सकिने नीति आउनुपर्ने राजनीतिक दलका नेताहरु बताउँछन् ।

पछिल्लो समय नेपालीको श्रम गन्तब्य मुलुक फेरिन थालेको छ । खाडी केन्द्रित नेपाली श्रमिकहरु अहिले युरोपतिर लोभिन थालेको छन् । साथै विद्यार्थी भिषा, भ्रमण भिषाको बहानामा पनि नेपालीहरु कामको खोजीमा यूरोप अमेरिका गइरहेका छन् । गन्तब्य फेरिए पनि नियती भने उस्तै छ । प्रक्रियागत झन्झटदेखि बिचौलिया र म्यानपावर कम्पनीबाटै श्रमिकहरु ठगिँदा पनि सरकार रमिते बनेको छ । अर्कोतर्फ वैदेशिक यात्रामा गएकाहरुको सुरक्षामा पनि सरकारले ध्यान दिन सकेको छैन ।

अहिले नेपाल सरकारको नियामक मन्त्रालयअन्र्तगत वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड लगायतका कार्यालय मात्र छन् तर आन्तरिक रोजगारको कुनै कार्यालय छैन । त्यसले गर्दापनि आन्तरिक रोजगारीको लागि सरकारले कुनै पहलकदमी थालेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी भने आन्तरिक रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको बताउँछन् । स्पेस समाचारसँग कुरा गर्दै उनले भने– ‘हामी जतिसक्दो बढीभन्दा बढी आन्तरिक रोजगारीका लागि काम गरिरहेका छौं, सोहीअनुसार अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम अघि बढिरहेको छ । अब आन्तरिक रोजगार कार्यालय नै बनाएर काम अघि बढाउँछौं ।’ सरकारले जति आश्वासन दिएपनि विदेश पलायन हुने युवाहरुको संख्या झन बढ्दो क्रममा रहेको छ ।

२०२३ मा विभिन्न उद्देश्यले विदेशिनेहरु

अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेका छन् । जसमा सबैभन्दा बढी रोजगारीका लागि जानेहरु छन् । एक वर्षको अवधिमा रोजगारीका लागि देश छाड्नेको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् । तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् ।