images

रास्वपाको द्वैध चरित्रः सडकबाट संघीयताको विरोध, सरकारबाट संघीयताको कार्यान्वयन

काठमाडाैं-“जान्नेलाई छान्ने” नारा दिएर आएको रास्वपाले आफूलाई पूराना दल भन्दा फरक भएको दाबी गर्ने गरेको छ । तर, रास्वपा पनि सत्ता र शक्तिका मामिलामा भने पुरानै दलहरुको कित्तामा उभिएको छ । प्रदेश संरचनाको चर्को विरोध गर्दै आएका रास्वपा सभापतिले सत्ता स्वार्थकै लागि पार्टीको नीति विपरित संघीयता कार्यान्वयन गर्ने आसयको बुँदा रहेको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सुरुवातका दिनदेखि नै प्रदेश संरचनामा असहमति जनाउँदै आएको रास्वपाले नयाँ गठबन्धनका लागि तयार पारिएको संघीयता कार्यान्वयनसहितको ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ । गत निर्वाचनमा उसले प्रदेशसभामा उम्मेदवार नै उठाएन । यसलाई उसले प्रदेश संरचना नरुचाएको रुपमा ब्याख्या गर्यो । केही समय अघि महोत्तरीको जलेश्वरमा बसेको बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा पनि प्रदेश संरचनाको विकल्प खोज्नुपर्ने उल्लेख छ । रास्वपाले प्रदेशलाई पार्टीका नेता कार्यकर्ता भर्ती केन्द्रको रुपमा व्याख्या गरेको छ । यो संरचना राज्यका लागि भार मात्रै भएको रास्वपाको निष्कर्ष छ । तर, रास्वपाले सत्ता स्वार्थका लागि आफ्नै नीति विपरित सम्झौता गरेको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सम्मिलित गठबन्धनले गरेको ८ बुँदे सहमतिको ५ नम्बर बुँदामा ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने’ उल्लेख छ । अर्थात संघीयता अन्तरगत प्रदेश संरचनालाई पनि प्रभावकारी बनाउन रास्वपा सहमत भएको छ ।

आखिर रास्वपाले सत्ताका लागि किन पार्टीको नीति विपरित सम्झौता ग¥यो त ? पार्टीका सांसदहरु भने वर्तमान सत्ता समिकरणमा भएको सहमति आफ्नो पार्टीको हितअनुकुल भएको दाबी गर्छन । सांसद बिनिता कठायत भन्छिन्– ‘सत्ता साझेदार दलहरुबीच जुन सहमतिपत्रमा हस्ताक्षर भएको छ त्यो सही छ । प्रदेश संरचना फेरबदल गर्नुपर्ने रास्वपाको जुन माग थियो अहिले पनि सोही माग छ । सोहीअनुसार प्रदेश तहलाई प्रभावकारी बनाएर अघि बढाउने विषयमा सहमति भएको छ ।’

त्यसो र रास्वपाले सरकारमा जानुलाई साधनको रुपमा व्याख्या गर्ने गरेको छ । काम देखाउनकै लागि भए पनि सरकारमा जानुपर्ने रास्वपाका सह–प्रवक्ता रमेश प्रसाईंको तर्क छ । उनी भन्छन्– ‘कुनै पदको भागबण्डाका लागि होइन, हामी जनताका मुद्दाका आधारमा सहकार्य गरिरहेका छौं । जनताको जीवनमा आशा जगाउने र उनीहरुको समस्या समाधानका लागि रास्वपाले सरकारलाई साधन बनाउँछ । जनतालाई परिवर्तन देखाउन कार्यकारी भूमिकामा सहभागी भएका हौं ।’

पछिल्लो घटनाक्रम हेर्दा जनताले जे भने पनि सबै दल सत्ताकै लागि मरिहत्ते गर्दारहेछन् भन्ने पुष्टि भएको छ । रास्वपाले गरेको यो सम्झौतालाई पनि सोही रुपमा लिन सकिन्छ । अर्थात रास्वपाले पनि सत्ताका लागि पार्टीको नीति विपरित पुरानै दलहरुसँग साँठगाँठ गर्नुले उसको सत्तामोहलाई छर्लङ्ग पारिदिएको छ ।