images

वर्तमान समयानकुलको पर्यटन नीति बनाउँछुः पर्यटन मन्त्री पाण्डे

काठमाडौं–नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूलको पर्यटन नीति बनाउने बताएका छन् ।

सोमवार मन्त्रालयको पद बहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत सर्त तोकिएको बताए ।

उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए  । उनले जनताले भ्रष्टाचारको न्यूनीकरण गरी सुशासनको प्रत्याभूति खोजिरहेको बताए  । उनले  युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए ।  उनले ठुलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउने बताए ।

उनले भने‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठुलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरूलाई ठिक ठाक बनाएर सर्भिसिङ गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउनुपर्ने छ । पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्ने गरी कार्यदल गठन गर्ने गरी परिमार्जन गर्नेछौँ ।’

उनले नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए । उनले पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्ने बताए  ।