images

विदेशी ब्राण्डका नक्कली मदिरा कारखाना चलाउने ९ जना पक्राउ

काठमाडौं–विदेशी ब्राण्डका नक्कली मदिरा कारखाना चलाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा नक्कली मदिरा उत्पादन गर्ने कारखाना समेत फेला पारेको हो ।

नक्कली मदिरा बेच्न गिरोहले राजस्वको स्टिकरसमेत नक्कली नै टाँसेर बजारमा लैजाने गरेको पाइएको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।

प्रहरीले नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो ।

सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।