images

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अवस्था बेहाल !

काठमाडौं– श्रमिक ती हुन् । जो हरेक दिन आफ्नो श्रम बेचेर गुजारा गर्ने गर्छन् । शारीरिक होस्, या मानसिक रूपमा श्रमजीवीले आफ्नो श्रमलाई पुँजीसँग सम्झौता गरिरहेको देखिन्छ । श्रमिकहरूले हरेक दिन आफ्नो श्रम कर्ममा रमाइरहेका हुन्छन् । उनीहरूका लागि एक दिन आउने श्रम दिवसले खासै छोएको देखिँदैन ।

मुलुकले अन्तर्राष्ट्रिय सन्धि सम्झौता र कानुनलाई अनुमोदन गरेको छ । सोही अनुसार सार्वजनिक बिदा दिने गरेको छ । उक्त बिदा पनि सरकारी कर्मचारीकाहरुका लागि मात्रै सदुपयोग देखिएको छ । तर निजी क्षेत्रमा काम गर्ने श्रमिकहरूको बारेमा न त राज्यले सोच्न सकेको छ । न त त्यो विषयमा राज्यका संयन्त्र नै गम्भीर बनेको देखिन्छ ।

हरेक दिन नेपाली मुलुकबाट श्रमका लागि भनेर हजारौँको सङ्ख्यामा दिन प्रतिदिन खाडी मुलुक लाग्नेहरूको ताँतीलाई समेत राज्यले अन्देखा गरेको पाइन्छ ।

दैनिक विदेश पलायन हुने युवाहरूको सङ्ख्या बढिरहेको छ । उपयुक्त अवसरको खोजीमा युवा जनशक्ति विदेश पलायन भइरहनु विडम्बनाको विषय हो । राज्यले युवाहरूका लागि देशभित्रै उपयुक्त अवसरको वातावरण बनाएको भए युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यता थिएन । राजनीतिक नेतृत्वले पटक पटक आश्वासन दिँदै आए पनि त्यो आश्वासन पूरा हुन सकेको छैन । बरु, वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि उपयुक्त वातावरण बनाइएको छ । दक्ष युवाहरूलाई देशभित्रै व्यवस्थापन गर्न नसक्दा त्यसले ठुलो नोक्सानी भएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूले भने अनुसारको सेवा, सुविधा पाएको देखिँदैन । एकातिर म्यानपावर व्यवसायीको ठगी धन्दा अर्कोतिर बिचौलियाको राजले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूले सास्ती खेप्नुपरेको छ । कतिपय नेपाली श्रमिकहरूले रोजगारीकै क्रममा ज्यान नै गुमाउनुपरेको छ । त्रिभुवन विमानस्थलमा दैनिक लास भित्रिने गरेका छन् । यी सबै समस्याका बाबजुद पनि सरकार नेपाली श्रमिकका विषयमा संवेदनशील बन्न सकेको छैन । आन्तरिक रोजगार सिर्जना गर्न राज्यले नीति अघि बढाए पनि त्यसका लागि केही समस्याहरू सामना गर्नुपरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए ।

नेपालमा वैदेशिक रोजगारसम्बन्धी थुप्रै कार्यालयहरू छन् । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय लगायतका संस्थाहरू खडा भएका छन् । तर, तिनले विदेशमा रहेका नेपालीहरूका समस्या समाधानमा खासै चासो देखाएको पाइँदैन । समस्यामा परेका नागरिकहरूले आफन्तमार्फत यी निकायमा उजुरी दिने गरेका छन् । वैदेशिक विभागमा ती उजुरीका चाङ छन् । तर, तिनको सुनुवाइ फितलो छ । समयमा सुनुवाइ नहुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले झन् समस्या भोग्नुपरेको अवस्था छ । यी समस्या समाधान गर्नुको साटो सरकार झन् वैदेशिक रोजगारसँग सम्बन्धित नयाँ नयाँ सम्झौताहरू गर्दै हिँडेको देखिन्छ । श्रम गन्तव्य मुलुकसँग सम्झौता गर्नुको साटो मुलुकभित्र आन्तरिक रोजगारीको अवसर सिर्जना गरेको भए त्यसले दिने परिणाम राम्रै हुन्थ्यो । यसले एकातिर दक्ष जनशक्ति मुलुकमै व्यवस्थापन गर्थ्यो भने अर्कोतिर मुलुकको विकास पनि हुने थियो । त्यसतर्फ सरकारको ध्यान गएको छैन । आन्तरिक रोजगार सिर्जना गर्ने पटक पटकका आश्वासन फगत साबित भएका छन् । वैदेशिक रोजगारीमा जनशक्ति पलायन गर्ने काममा मात्र सरकारको ध्यान केन्द्रित भएको छ । आन्तरिक रोजगारी स्थापना गर्ने सवालमा सरकारको कुनै पहलकदमी नै छैन । तर, श्रम मन्त्री डोलप्रसाद अर्याल भने सरकारले आन्तरिक रोजगारी स्थापनाका लागि काम सुरु गरेको बताए । उनले भने– ‘श्रम मन्त्रालयको काम विदेशमा नागरिक पठाउने मात्र हो कि भन्ने गलत भाष्य स्थापित भएको छ । हामी मुलुकभित्र आन्तरिक रोजगारी स्थापनाका लागि काम गरिरहेका छौंँ । त्यसका लागि हामीसँग स्रोत, साधनको अभाव छैन ।’

सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरेको थियो । त्यो कार्यक्रम पनि अहिले के हुँदै छ अत्तोपत्तो छैन । मुलुकभित्र आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न नसक्ने अनि आफ्ना दक्ष श्रमिकलाई विदेश पलायन गर्ने सरकारको यो नीतिले कहाँ पुगिने हो रु अत्तोपत्तो छैन ।