images

सीआईबीमा कार्यरत चार जना इन्स्पेक्टरकाे सरूवा

काठमाडौं–केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ प्रहरी निरीक्षकलाई हटाइएको छ ।

इन्स्पेक्टर सुरेश खत्री र रञ्जित लामालाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । त्यस्तै वकिल सिंहलाई सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा पठाइएको छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई भने सीआईबीमा लगिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावलको पनि सीआईबीमा काज सरुवा गरिएको छ । सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा सीआईबीका एआईजी किरण बज्राचार्य सहित एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको थियो ।

उनीहरू सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो । अनुसन्धानमा खटिएकालाई समेत अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिस रहेकाले सोही अनुसार इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको जनाइएको छ ।